बुटवल – भारतको महाकुम्भ मेला स्नान गरेर फर्किदै गर्दा रुपन्देहीको देवदहका तीन व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार, दुर्घटनामा परी ४५ वर्षीय गणेश खनाल, उनकी ३५ वर्षीया पत्नी दिपा खनाल र ४० वर्षीय गंगा शर्मा मृत्यु भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनले जानकारी दिए अनुसार, कुम्भ मेला स्नान गरेर फर्किदै गर्दा भारतको उत्तर प्रदेशस्थित आजमगढ बाराणसी रोडमा तीर्थयात्री सवार गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार, गाडी चालक निदाएको कारण दुर्घटना भएको हुनसक्छ।
दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा देवदह नगरपालिका ९ की कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि गोरखपुर पठाइएको जानकारी आएको छ।
यस घटनामा फागुन ३ गते महाकुम्भ मेला स्नान गर्न ३५ जनाको टोली पाँचवटा गाडीमा भारत गएको र नेपाल फर्किने क्रममा उक्त गाडी दुर्घटना भएको हो।
प्रतिक्रिया