‘लाज शरणम्’को प्रचार प्रसार नगर्न उच्च अदालतको अन्तरिम आदेश



आज रिलिज हुन लागेको फिल्म ‘लाज शरणम्’को ट्रेलर प्रभावित बनेको छ । उच्च अदालत पाटनले फिल्मको प्रचार प्रसार सामाजिक संजाल र संचारमाध्यमबाट नगर्न नगराउन अन्तरिम आदेश दिएसँगै ट्रेलर सार्वजनिक गर्ने योजना प्रभावित बनेको हो ।

पूर्वमन्त्री मोहम्मद अफताव आलामको मुद्दामा सुनुवाई गर्दै पाटन उच्च अदालतले यस्तो अन्तरिम आदेश दिएको हो ।

आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने पहिरन, गेटअप, जीउडाल, कपाल मिलाउने शैली, हाउभाउ र लबज अनुमतीविना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

उनले, चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उनको रिटमा अन्तरिम आदेश दिदै अदालतले सामाजिक संजाल र मिडियाबाट कुनै पनि प्रचार सामाग्री सार्वजनिक नगर्नु भन्दै अन्तरिम आदेश दिएको हो ।

जेपिटी क्रियशनले यो फिल्मको निर्माण गरेको हो । फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । फिल्ममा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’को गेटअपलाई लिएर मुद्दा अदालतमा पुगेको हो ।

फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’ले आलमको गेटअपमा अभिनय गरेका छन् । सितारामको यही गेटअपलाई पोष्टर, गीत र टिजरमा निर्माणपक्षले उच्च स्थान दिदै प्रचार गरिरहेको थियो ।