काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका(७ घर भई काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका(१० घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका(९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन्।
पक्राउका क्रममा, सरनले सिंगापुर पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रुपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार सरन र मंगलबार मिकेशलाई पक्राउ गरेको हो।
पक्राउ गरिएका यी व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।
प्रतिक्रिया