काठमाडौँ- भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परीकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याईने भएको छ। शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको र आज साँझसम्म शव रुपन्देहीमा ल्याउने तयारी गरिएको छ।
प्रकृति लम्साल २० वर्षकी थिइन् र गत आइतबार अपराह्न उनको शव होस्टलको कोठामा मृत अवस्थामा फेला परेको थियो। यस घटनाको विरोधमा विद्यार्थीहरूले प्रदर्शन थालेका थिए, तर युनिभर्सिटी प्रशासनले उल्टै दमन गरेको थियो।
यस प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन्। कलेज प्रशासनले पटक पटक माफी मागेको छ, र नेपाली छात्रा मृत फेला परेपछि त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थी नेपाल फर्किएका छन्। यो विषय संसदमा र ओडिसा विधानसभामा पनि उठिसकेको छ, जसका कारण ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
भारतीय मिडियाका अनुसार, प्रकृतिका प्रेमी भनिएका अडविक श्रीवास्तवसहित ६ जना अहिले प्रहरी नियन्त्रणमा छन्। श्रीवास्तवको यातना र टर्चर सहन नसकेर प्रकृतिले आत्महत्या गरेको आरोप उनको साथीहरूले लगाएका छन्। श्रीवास्तव हाल प्रहरीको न्यायिक हिरासतमा छन्।
कलेजका ५९ वर्षीय मानव स्रोत महानिर्देशक शिवनन्द मिश्र, ५० वर्षीय प्रशासन निर्देशक प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठ, र सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि पक्राउ परेका छन्। त्यहाँ कार्यरत दुई चौकिगार्ड सेवाबाट बर्खास्त भएका छन् भने तीन कर्मचारीहरूलाई सेवाबाट निलम्बित गरिएको छ।
यस घटनामा १६ जना नेपाली विद्यार्थी कलेजबाट निकालिएर नेपाल फर्केका छन्, र उनीहरूले झापाको काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन्।
प्रतिक्रिया