काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले सबै नकारात्मकतालाई चिरेर देशलाई विकासको बाटोमा लैजाने दाबी गरेका छन् । नेपाली कांग्रेस पाल्पाको पूर्वखोलामा आयोजित ‘प्रथम लोकतान्त्रिक महोत्सव’ लाई आज रामपुरमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले भने,‘कांग्रेसले नकारात्मकलाई चिरेर, तथ्य र प्रमाणले अघि बढ्नुपर्छ । अब विकासमात्रै नेपालको एजेण्डा हो । कांग्रेसको कोही पनि दुस्मन छैन् । कुनै पार्टीलाई होच्याएर भनेको होईन । एउटा कम्युनिष्ट पार्टीलाई टिक्नको लागि र बाँच्नको लागि कोही न कोही दुश्मन चाहिन्छ । महासमितिको बैठकमा म र विश्वप्रकाश शर्माले हामीले अरु राजनीतिक दलबारे अब नलेख्ने भनेर छोडिदिएको हो । कांग्रेसले समाप्त गर्न खोजेको कुरा भनेको नेपालबाट गरिवी समाप्त गर्न चाहन्छौं । प्रत्येक मान्छेलाई सम्मानित बनाउन चाहन्छौं । कांग्रेस तपाईंको खुत्रुकेको पैसा बढाउन चाहन्छ । गरिबी बेचेर, त्यसको आधारमा मान्छेलाई क्रान्तिमा रोमाञ्चित गरेको धेरै देखियो । त्यसले कहीँपनि पुर्याएन ।’
उनले २००७ सालदेखि आजसम्म भएको क्रान्ति र परिवर्तनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै अब देशलाई विकास गर्नुपर्नेमा जोड दिए । उनले भने,‘२००७ सालदेखि सुरु भएको प्रजातान्त्रिक आन्दोलनले यहाँसम्म ल्यायो । यसलाई जोगाउने हो । विभेद र असमानता घटाउने हो । हाम्रो आय बढाउने हो । आम्दानी बढाउने हो । कमाई बढाउने हो । अहिलेकोन्दा बढि धनी हुने । आम्दानी बढाउने संकल्प गर्ने हो । अब देशलाई हामीले सम्हाल्नुपर्छ । अब नयाँ चमत्कार हुनुपर्छ भनेर भनियो भने अर्को पुस्ताको समय खेर जान्छ । अर्को १०, १५ वर्ष जान्छ ।’
थापाले सार्वजनिक पद वा ओहोदामा बसेर सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्नो वा परिवारको हितमा प्रयोग गर्न नहुने सुझाव दिए । उनले भने,‘हामी सबै भगावन मान्ने मानिस छौं । धर्म मान्छौं । हामी सबै के मा विश्वस गर्छौं भने, सार्वजनिक पद र ओहोदामा बसेर, सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्नो वा परिवारको हितमा प्रयोग गर्छ भने त्यो भन्दा ठूलो अपराध वा पाप केही प्नि होईन ।’
प्रतिक्रिया