प्रकृति लम्सालको मृत्युको निश्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको लागि भारतीय मन्त्रीसँग मन्त्री राणाको आग्रह


काठमाडौं, ७ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित् केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको विषयमा निश्कपक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको लागि भारतका ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेको स्पष्ट पारेकी छिन् । उनले लम्सालको मृत्युपछि विकसित परिस्थितिका विषयमा पनि आफूले निरन्तर फलोअप गरिरहेको जानकारी गराएकी छिन्

सोबारे जानकारी दिँदै राणाले फेशबुकमा लेखेकी छिन्–

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा हामीले निरन्तर फलो अप गरिरहेका छौँ । आज पनि मैले ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेँ । उहाँले यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको बताउनभुयो । त्यस्तै उहाँले कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिनुभएको थियो । कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।