साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने


काठमाडौँ- साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका तीन नेपाली नागरिकको शव नेपाल पठाइने भएको छ। नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार, पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव २० र २१ फब्रुअरीका दिन नेपाल पठाउन तयारी भइरहेको छ।

संबन्धित कम्पनी र निकायसँग समन्वय गरेर मृतक नेपालीहरूको शव चाँडो भन्दा चाँडो नेपाल पठाउने प्रयास गरिएको छ।

सोही दुर्घटनामा घाइते इलामका सुकबहादुर लिम्बुको उपचार चलिरहेको छ। गत जनवरी २७ मा साउदी अरबको पश्चिम क्षेत्र जिजान शहरको आराम्को रिफाइनरी रोडनजिकै कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। यस दुर्घटनामा तीन नेपालीसहित भारतका नौ र घानाका तीन जना गरी १५ जनाको मृत्यु भएको थियो।

उनीहरू अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आराम्को प्रोजेक्टमा काम गर्दै थिए। घाइते सुकबहादुर लिम्बुसहित अन्य ११ जना घाइतेलाई नजिकैको अस्पतालमा उपचार भइरहेको छ।