काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका शीर्ष नेता गोपालमान श्रेष्ठले पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू १५औं महाधिवेशनमा संस्थापन पक्षको उम्मेदवार बन्ने उद्घोष गरेका हुन् ।
नेता श्रेष्ठले आफूलाई पार्टी सभापति शेरबहादुर देउवाको साथ र समर्थन रहने पनि दाबी गरे । सभापति देउवाले १४औं महाधिवेशनको बेलामा नै आफूलाई १५ औं महाधिवेशनमा ‘मेरो तर्फबाट सभापतिको उम्मेदवार तपाई’ भनेर वचन दिएको उनले बताए ।
शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ बालुवाटारमा बस्नुहुन्थ्यो । शेरबहादुरजीले मलाई बोलाउनु भयो । उहाँ र म बीचमा सहमति भएको छ । गोपालमानजी यस पटक मलाई सहयोग गर्नुस्, मलाई जिताउनुस्, अनि १५औं मा तपाई लड्नुहोला । तपाईँ लड्नुहोला भनेर उहाँको मुखराविन्दबाट भन्नु भएको छ । तपाईँलाई १५औंमा सहयोग गरौंला यस पटक मलाई सहयोग गर्नुस् भनेर उहाँले भन्नु भएकै हो,’– उनले भने ।
साथै, पार्टीको महाधिवेशन १ वर्ष अवधि थपिएर २०८३ मा हुने उनले बताए । ‘महाधिवेशन ४ वर्ष पुगेपछि, एक वर्ष थपिएपछि हुन्छ । शेरबहादुरजीले भन्नुभयो– म पहिला पनि गराउँथेँ । किनभने मेरो ७ बुँदे सहमतिमा, केपीजीसँगको मेरो सहमतिमा म पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर प्रधानमन्त्री हुने भनेको छ । पहिला नै अधिवेशन गरेर मैले सभापति छाडेँ भने त त्यो मलाई अप्ठ्यारो पर्छ । उहाँको अप्ठ्यारोलाई पनि हामीले बुझ्नुपर्यो,’– नेता श्रेष्ठले भने ।
प्रतिक्रिया