काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले पहिला संघको निर्वाचन गराएरमात्रै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले स्थानीय तहमा जितेकाले आफ्नै बलबुताले जितेको भन्ने र हारेकाहरु हराइयो भनेर सक्रिय नै नहुने अवस्था रहेको बताए । संघीय निर्वाचनमा सबै कार्यकर्ताहरुलाई सक्रिय गराउन पनि पहिला संघको निर्वाचन गराइनुपर्ने उनको भनाइ छ ।
साथै, समानुपातिक निर्वाचन प्रणलीलाई पनि व्यस्थित गरिनु आवश्यक रहेको उनले बताए । सबै जात, वर्ग, धर्म सम्प्रदायको प्रतिनिधित्व हुनेगरी चुनावमै टिकट वितरण गरिनुपर्ने उनको भनाइ छ । महिला–महिला, जनजाति–जनजाति र दलित–दलितबीचमा प्रतिस्पर्धा गराइनुपर्ने उनले बताए । नेता खतिवडाले समानुपातिकमा नेताका, नाताका र दाताका मान्छेहरुलाई ठाउँ दिन नहुने बताए ।
प्रदेशमा समानुपातिक राख्नै हुँदैन । समावेशी समानुपातिक प्रतिनिधित्व चुनावमा टिकट दिँदै गराउनुपर्छ । जुन जात, वर्ग, धर्म सम्प्रदाय हुन्, उनीहरुलाई टिकट दिँदा नै प्राथमिकता दिएर दिनुपर्छ । एउटा क्षेत्रमा महिला–महिलामात्रै दिउँ न । महिलाको प्रतिनिधित्व त्यहाँबाट हुन्छ । सबैको प्रतिनितित्व चाहीँ हुनुपर्छ । समानुपातिक प्रदेशमा पनि राख्ने, सबै ठाउँमा राख्ने, यसलाई अली व्यवस्थित गर्नुपर्छ । समानुपाति राख्नुपर्छ, यसलाई हटाउने होईन । समावेशी पनि बनाउनुपर्छ । तर, यो कस्तो भएको छ भने नीतिका होईन, नेताका मान्छे थन्क्याउने, नाताका आउने, नाताका पछि दाताहरु आउने, त्यो पनि अटेन भने भ्राता आउने, यो पद्धतिलाई अलिकति कन्ट्रोल गर्नुपर्छ ।
साथै, कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण नितान्त व्यक्तिगत रहेको पनि उनले बताए । देउवा आज महाकुम्भ मेलामा सहभागी हुन भारत जान लागेका हुन् । ‘नेपाल र भारतबीचको सम्बन्ध बिग्रेको पनि केही छैन, कहिलेकाहीँ व्यक्तिगत भ्रमणहरु हुन्छन् । कहिलेकाँही स्वास्थ्यका कुराहरु पनि हुन्छन् । मलाई लाग्दैन अहिले त्यस्तो केही छैन, हाम्रो सम्बन्ध बिग्रिएको छैन । हामी भारतसँग सुमधुर सम्बन्ध कायम गरेर जान चाहन्छौं । हो पनि हाम्रो पारिवारिक र जनस्तरको सम्बन्ध भएको मुलुक हो,’– उनले भने ।
प्रतिक्रिया