भूमिसम्बन्धी अध्यादेश पास गराउन उपेन्द्रसँग कुरा भइरहेको छः एमाले सचिव भट्टराई


नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २९ वटा कानुन संशोधन गर्ने गरी सरकारले ल्याएको ६ वटा अध्यादेश संघीय संसद्को दुवै सदनबाट जसरी पनि स्वीकृत हुने बताएका छन् । आज (बिहीबार) वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्यादेशको सन्दर्भमा शंका गर्नुपर्ने कुनै कुरा नरहेको बताए ।

भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा सरकारमै रहेका केही दलहरुबीच शंका, उपशंकाको वातावरण बनिरहेको अवस्था जानकारी गराउँदै उनले यससम्बन्धमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल भइरहेको पनि बताए ।

नेता भट्टराईले कांग्रेस–एमालेको वर्तमान सत्ता समीकरण ०८४ को निर्वाचनसम्म नै टिक्ने दाबी गरे । उनले हल्लाको पछि लागेर गठबन्धन केही हुने हो कि भन्ने भ्रममा नपर्न आग्रह गरे । आगामी २०८४ को निर्वाचनपछि भने एमालेले एकल बहुमतको सरकार बनाउने उनको दाबी छ ।

अब नेपालको निर्वाचन प्रणालीमा राजनीतिक समीकरणको परम्परा नै अन्त्य भएर जाने उनले बताए । सबै दलहरु आ–आफ्नो तरिकाले एक्लाएक्लै चुनाव लड्नुपर्ने उनको भनाइ छ । नेता भट्टराईले दलहरु आफ्नो सामर्थ्यमा एक्लाएक्लै चुनाव लडेको खण्डमा सरकार फेरबदलको परम्परा पनि अन्त्य हुने बताए ।