बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक संजालमा चलेको एक हल्लाको खण्डन गरेका छन् ।
अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएडी)बाट पैसा लिएर हिन्दू धर्म विरोधी प्रचार गरेको आरोप लागेपछि उनीहरुले त्यसको खण्डन गरेका छन् ।
उनीहरुले यस्तो गलत प्रचारको पछि नलाग्न पनि आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।
भिडियोमा मदनकृष्ण र हरिवंशले यस्ता गलत हल्लाले आफूहरुको चित्त दुखेको उल्लेख गरेका छन् ।
मदनकृष्णले भनेका छन्–‘हिजोआज सामाजिक संजालमा मह जोडीले यूएसएडी’ पैसा लिएर धर्मको विरोध गर्दै हिँड्यो भन्ने जुन किसिमको अनर्गल प्रचार भइरहेको छ, त्यसले हाम्रो एकमदै चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी संझन्छौं । आफ्नै हितैषीबाट यस्तो कुरा सुन्दा चित्त दुखेको छ ।’
यस्तै, कलाकार हरिवंश आचार्यले पनि कुनै सिरियलबाट आफूहरुले हिन्दू धर्म वा अन्य धर्मको विरोध नगरेको बताएका छन् । उनले भने–‘हामीले मदनबहादुर हरिबहादुर, असल लोग्ने, आमा, विभिन्न किसिमका खोपका कार्यक्रमहरु गरेका छौं । र त्यो हामीले युट्युबमा छर्लङ हुने गरि राखेका छौं । त्यो एकपटक हेर्न म आग्रह गर्न चाहन्छु । हामीले कहीँ कर्त पनि सनातन हिन्दू धर्म र अन्य कुनै पनि धर्मको विरोध गरेका छैनौं । र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अर्नगल प्रचार हो ।’
हरिवंशले ‘पञ्चायत व्यवस्थाको सराध्य’ कार्यक्रममा हिन्दु धर्मप्रति नभई पण्डित पात्रको प्रवृत्तीप्रति व्यङ्ग्य गरेको पनि प्रष्ट पारेका छन् । उनले भनेका छन्–‘पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितकै छोरो हुँ । र व्यङ्ग्य भनेको नेता, पण्डित, पुलिस, डाक्टर सबैलाई गर्न पाइन्छ । कार्यक्रमको एउटा टुक्रा मात्र राखेर हिन्दू धर्मको नै विरोध गर्यो भन्ने कपोलकल्पित कुरा हो ।’
प्रतिक्रिया