नेपाल बनाउन सम्भव छ र हामीले नै बनाउने हो: प्रचण्ड


पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सम्भव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् । गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उने जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपालमा प्रचुर सम्भावना रहेको बताएका हुन् ।

एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको भन्दै अध्यक्ष प्रचण्डले चिन्ता व्यक्त गरे । परिवर्तन सम्भव रहेको बताउँदै उनले धेरै क्षेत्रमा थालनी भइसकेको दाबी गरे । आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको प्रचण्डले बताए । ‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरें, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ । नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए ।’

देशभित्र र बाहिर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रममा अहिले बैदेशिक रोजगारीमा गएका १५ लाख र देशभित्र लाखौं नेपाली श्रमिक आबद्ध भइरहेको पनि उनले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले नै गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरुले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको बताए ।

नेपालमा सम्भावना हुँदाहुँदै पनि नेपालका गाउँहरु विस्तारै युवाविहीन हुँदै गरेको र बाझो बढ्दै गएको डरलाग्दो तथ्यप्रति गम्भीर हुनुपर्ने बेला आएको प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले आम जनताले आफ्ना छोराछोरीलाई बिदेश होइन, आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधारहरु रहेको बताए ।

कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलापमा वृद्धि गर्दै युवाहरुका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न आफ्नो पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि स्थानीय तहबाट समाजवाद निर्माणको ऐतिहासिक पहल अघि बढाउन थालेको जानकारी गराए । ‘हामी पर्सीदेखि हाम्रो पार्टीले जितेका पालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको राष्ट्रिय भेला गरेर स्थानीय तहबाट समाजवादी अर्थतन्त्रको सुरुवातका लागि के गर्न सकिन्छ भनेर छलफल गर्दै छौं । स्थानीय विशेषताअनुसारको आर्थिक विकास नै समाजवाद निर्माणको जग हुनेछ,’– उनले भने ।

पार्टीले लगत्तै जनतासँग माओवादी तराई मधेश जागरण अभियान र वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु गर्न थालेको उल्लेख गर्दै उनले यो देश जोड्ने अभियान हुने बर्ताए । ‘हामी यी अभियानलाई औपचारिक कार्यक्रम मात्र होइन, पार्टीले अघि बढाएको समाजवाद निर्माणको कार्यक्रमको मुख्य पृष्ठपोषणको रुपमा लैजाने छौं । देशभरिका संभावना र जनताको मनोविज्ञान उनीहरुले चाहेजस्तै आर्थिक विकासका कार्यक्रम जनस्तरबाटै सुरु गर्ने, आफ्नो वर्ग र समुदायमा फर्केर सुशासनका पक्षमा राष्ट्रिय एकता जागृत गर्ने अभियानको उद्देश्य हुनेछ,’– प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले गोरखाली जनताको विकास निर्माणको आकांक्षालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकताको विषय हुने पनि बताए । उनले छिमेकी देशको भ्रमणका क्रममा समेत आफूले गोरखालाई प्राथमिकता दिएको उल्लेख गर्दै चीनसँग गोरखामा एउटा कृषि औद्योगिक पार्क बनाउने समझदारी भएकोसमेत बताए ।