के पल शाह ‘रोमान्सका राजा’ हुन् ?



नायक पल शाहलाई नेपाली फिल्म क्षेत्रमा विभिन्न उपनाम दिइएको छ । विशेषगरि, पलले सामाजिक कार्यमा आफूलाई सक्रिय बनाएपछि उनलाई ‘रियल हिरो’को उपमा दिइयो । दर्शकहरुले पनि पललाई ‘रियल हिरो’ नै मान्ने गरेका छन् ।

तर, निर्देशक तथा निर्माता सन्तोष सेनले भने पललाई ‘रोमान्टिक राजा’को उपमा दिएका छन् । फिल्म ‘बलिदान’को छायांकन सकेर फर्किएपछि पलको मुख्य भूमिका रहेको फिल्म ‘मायावी’को ट्रेलर शेयर गर्दै पललाई ‘रोमान्टिक राजा’को उपमा सन्तोषले दिएका हुन् ।

पल यो फिल्ममा रोमान्टिक अवतारमा छन् । उनको चकलेटी अनुहारका कारण पनि धेरैले उनलाई प्रेमको कथामा बढी रुचाएका छन् । तर, कहिलेकाही पलले फरक भूमिकामा पनि काम गर्दै आएका छन् ।

नेपालमा ‘रोमान्सका राजा’ भनेर अहिलेसम्म कसैलाई पनि ट्याग दिइएको छैन । तर, सन्तोषले यो ट्याग अब पललाई दिएका छन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो फिल्म बुधबारदेखि रिलिजमा आउँदैछ । फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अन्सु महर्जन, समीम खान लगायतका कलाकारहरुको अभिनय छ ।