विद्यार्थी असुरक्षित, सरकार बेखबर ? – सुमना श्रेष्ठ


माननिय पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले आफनो सोसलमिडियामा यस्तो लेख्दै यो सरकारले बेवास्ता गर्यो भन्दै
सरकार भन्छ— “मुद्दा टुंगियो”, KIIT प्रशासन भन्छ— “फिर्ता आऊ”, तर पीडित विद्यार्थीहरू प्रश्न गर्छन्— “हामीलाई टेबलमाथि सुताएर कुटियो, फेरि कसरी फर्कनु?”

विद्यार्थीहरू प्रेस मिटिङमा हात काँप्दै आफ्ना पीडा व्यक्त गरिरहेका छन्, तर सरकारले “नडराऊ, म छु” भन्ने साहस देखाएको छैन। नेपाली विद्यार्थीहरू विदेशमा भौतिक र मानसिक यातना सहन बाध्य छन्। केही रेल्वे स्टेशनमा मृत भेटिन्छन्, केही आत्महत्याको अवस्थामा पुग्छन्, तर सरकार भने ‘अब त्यस्तो हुँदैन’ भन्दै उनीहरूलाई फिर्ता जान भन्छ!

विद्यार्थीहरू नेपाल फर्के भने उनीहरूको पढाइ निरन्तरता कसरी सुनिश्चित गरिन्छ? मानसिक स्वास्थ्य सेवाको व्यवस्था कहाँ छ? शिक्षामन्त्री र स्वास्थ्य मन्त्री किन मौन छन्?

नेपालमै विद्यार्थीहरू धम्कीको सिकार छन्। अस्पतालमा डाक्टरहरूले मानसिक यातनाका कारण आत्महत्याको प्रयास गरिरहेका छन्। बाँचिरहेका डाक्टरहरू भन्छन्— “हामीलाई सुरक्षित महसुस गराइदिनुस्।”

नेपाल बाहिर एक विद्यार्थीले आत्महत्या गरेपछि न्यायको माग गर्दा सबै नेपाली विद्यार्थी कुटिन्छन्, लखेटिन्छन्। सदन मौन छ, सरकार उताको प्रशासनले भनेको कुरामा विश्वास गरेर चुपचाप बसेको छ। विद्यार्थीहरूलाई एक्लै छोडिएको छ।

नेपाली विद्यार्थी न त नेपालमै सुरक्षित छन्, न विदेशमा।

अब कति दिन सहने? सरकारको बेखबरपन कति दिन स्वीकार्ने? नेपालीहरूले कहिलेसम्म यस्तो अन्याय सहनुपर्ने?