त्रिशुलीमा खसेको ९ दिनपछि भेट्यो रोहितको शव


रोहित रानाको ९ दिनअघि नारायणगढबाट काठमाडौँतर्फ आउने क्रममा मोटरसाइकल दुर्घटनामा परि त्रिशुलीमा बेपत्ता भएका शव भेटिएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका ५ कालिखोलामा तैरिरहेको अवस्थामा फेला परेको शव उनैको भएको पुष्टि भएको हो ।

उक्त शव निकालेर हेर्दा रोहितकै भएको उनका परिवारले पुष्टि गरेको चितवन प्रहरीले जनाएको छ । ‘‘शव भेटिएकै ठाउँमा उनका बाबु अशोक रानासहित पुगेर हेर्दा उनले सो शव आफ्नै छोरोको भएको बताएका छन् ।’’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए ।

त्यस्तै फेला परेको शवको पोस्ट मार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । गत फागुन २ गते करिब ११ बजेको समयमा नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल दुर्घटना हुँदा लमजुङका २७ वर्षीय रोहित राना बेपत्ता भएका थिए । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीरको सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेका थिए । चालकको खोजी र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्रको गोताखोरको टोली परिचालन भएपनि फेला पर्न सकेको थिएन ।