नेपाल ‘ग्रे लिस्ट’ मा पर्नुको मुख्य दोषी ओली र लामिछाने हुन्ः


अधिवक्ता नेपालअधिवक्ता स्वागत नेपालले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राख्नुमा मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रहेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली र लामिछानेजस्ता मान्छेहरुले जनता लुट्ने र देश दोहन गर्ने काम गरेपछि नेपाल ग्रे लिस्टमा परेको आरोप लगाएका हुन् ।

फरक–फरक नाम रहेका एउटै दलहरुले अपराधसँग सत्ताको साटफेर गरेको कारण अहिलेको परिस्थिति सिर्जना भएको उनको दाबी छ । अधिवक्ता नेपालले अहिलेसम्म सरकारमा गएका र सरकारमा भएका सबैसँग कालो धन रहेको उनको दाबी छ ।

‘नेपाल ग्रे लिस्टमा पर्नुको मुख्य कारण एक नम्बर केपी ओली, दुई नम्बर रवि लामिछाने । यी सबै बेग्लाबेग्लै नाम गरेको एउटै दलहरु मिलेर जनताको पैसा लुटेर खाए । यस्ता ठगहरु, अभियुक्तहरुको मुद्दा राज्यले योजना बनाएर फिर्ता लिने, अपराधसँग सत्ताको साटफेर र मुद्दा नचलाउने शर्तमा विश्वासको मत दिने, यो कुरा नै भ्रष्टाचार हो । मैले मुख्य दुई भनेँ । अरु अहिलेसम्म सरकारमा गएका र सरकारमा भएका सबै हुन् । अहिलेसम्म सरकारमा गएका र सरकारमा भएका सबैसँग कालो धन छ । यो देशमा २१ चोटी मन्त्री भए,’– उनले भने ।