सशस्त्र प्रहरी इन्स्पेक्टरलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पक्राउ


काठमाडौँ- सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा सशस्त्र प्रहरीका अर्का इन्स्पेक्टर विवेक जोशीलाई कास्की प्रहरीले सोमबार राति पक्राउ गरेको छ।

सन्तोषी महतको आत्महत्या घटनामा जोशीलाई दुरूत्साहन गरेको आरोप छ। परिवारको किटानी जाहेरीको आधारमा कास्की जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो। विवेक जोशी तनहुँस्थित ३ नम्बर गणमा कार्यरत थिए।

सन्तोषी महत शनिबार राति पोखराको तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनको मृत्यु पछि, सशस्त्र प्रहरी बलले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ, जसले घटनाको छानबिन गरिरहेको छ।

सन्तोषी महतले २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती प्राप्त गरेकी थिइन्। त्यसपछि उनले २०७८ सालमा असई र २०८१ सालमा १७औं ब्याचमा इन्स्पेक्टरको पदमा नाम निकाल्न सफल भएकी थिइन्।