शिवरात्रिका लागि काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू


काठमाडौं- शिवरात्रिका अवसरमा काठमाडौं उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरिएको छ। सोमबार रातिबाट नै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा योजना बनाएर लागू गरेको हो।

सुरक्षा योजनाअनुसार, एसपी अपिलराज बोहोराको नेतृत्वमा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने छ। यसमा तीन सिफ्टमा प्रहरी खटाइनेछ, जसका लागि ३५ सय ११ प्रहरी परिचालन गर्ने तयारी गरिएको छ।

पशुपति क्षेत्रको सुरक्षा सुनिश्चित गर्न ८ घण्टा ड्युटीका दरले तीन सिफ्टमा १,०२४ प्रहरी परिचालन गरिने जानकारी एसपी बोहोराले दिएका छन्। कमाण्ड पोस्ट र सब कमाण्ड पोस्टमा प्रहरी परिचालन गरिएको छ, साथै सादा पोशाकका प्रहरी पनि सुरक्षा निगरानीका लागि परिचालित गरिने छन्।

शिवरात्रिमा भिडभाडको मौकामा चोरी र लुटपाट जस्ता अपराध हुनसक्ने अवस्थालाई रोक्नका लागि ४० सादा पोशाक प्रहरी परिचालन गरिने छ। यसका साथै, सीसीटीभी र फोटो ग्राफरहरूको सहयोगले निगरानी र घटनास्थलको अनुगमन गरिने छ।

प्रहरीले गाँजा किनबेच र अन्य अवैध गतिविधिहरू रोक्नका लागि पनि तयारी गरेको छ। यस्तै, महिलामाथि दुव्र्यवहार, चोरी र लुटपाट जस्ता घटनाहरूको निगरानी राख्न विशेष सुरक्षा सतर्कता अपनाइएको छ।