काठमाडौँ- महाशिवरात्रि पर्वका अवसरमा आज तनहुँका विभिन्न शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर, शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्वयनधाम, आँबुखैरेनीस्थित शिवालय मन्दिरमा भक्तजनहरू दर्शन गर्न आएका छन्।
मुक्तिनाथ च्वयनधामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआराधना गरेपछि सन्तान नभएका भक्तजनले सन्तान प्राप्तिको आशामा मन्दिरमा दर्शन गरेका छन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमनाथ लम्सालका अनुसार, च्वयनधाममा शुक्लेश्वर महादेवको मन्दिरसँगै सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशका मन्दिरहरू पनि छन्, जसले यहाँ आउने भक्तजनलाई आकर्षित गरेको छ।
यहाँ एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम र पार्क निर्माण गरिएका छन्। बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै यहाँ बौद्ध गुम्बा पनि निर्माण गरिएको छ।
प्रतिक्रिया