आयो कुलमानको स्पष्टीकरण, ऊर्जामन्त्री खड्कालाई दिए यस्तो चेतावनी


देशलाई लोडसेडिङमुक्त र घाटामा गएको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लगेर सुधारका काम गरेर नेपाली जनतामा गहिरो छाप छाडेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्कालाई स्पष्टीकरण बुझाएका छन् ।

मन्त्री खड्काले हटाउने प्रयोजनस्वरुप घिसिङलाई किन कारबाही नगर्ने भन्दै मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेका थिए । मन्त्री खड्काले पदबाट हटाउन दोस्रोपटक स्पष्टीकरण पठाएपछि घिसिङले पदबाट हटाउने विषयमा दोस्रोपटक ६ बुँदे स्पष्टीकरण दिएका हुन् । उनले बुँदा नम्बर (क) पदबाट हटाउने विषय (दोस्रो पटक) स्पष्टीकरणमा जवाफ लेखेका छन्, ‘मेरो विगत दुई आ।व।को कार्यसम्पादन मूल्यांकन भएको व्यहोरा तहाँको अभिलेखमा रहेको छ । आ.व. २०८०।८१ को कार्यसम्पादनको मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ ।

पुस २८ गते पेस गरेको स्पष्टीकरणको सम्बन्धमा लगभग डेढ महिनासम्म कुनै कारबाही नगरी अचानक मंगलबार २४ घण्टाको अवधि दिई स्पष्टीकरण माग गरिएको कार्य प्रक्रियागत रुपमा गम्भीर त्रुटिपूर्ण भएको घिसिङले स्पष्ट पारेका छन् । मन्त्रीले पूर्वाग्रह राखेर स्पष्टीकरणको आधारमा सेवाबाट हटाउन नमिल्ने व्यहोरा प्रष्ट पारेका छन् ।

यसअघि आफूलाई सोधिएको स्पष्टीकरण वस्तुनिष्ठ र सन्तोषजनक नभएको भन्दै उनले आफूमाथि कारबाहीका लागि कुनै स्पष्ट आधार प्रस्तुत नगरिएको घिसिङले उल्लेख गरेका छन् । उनले उक्त स्पष्टीकरणलाई मनगढन्ते र आधारहीन भएको भन्दै कारवाहीको प्रक्रिया बन्द गर्न आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्का भने जसरी पनि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर प्राधिकरणमा आफू अनुकूलको मान्छे नियुक्त गर्न चाहन्छन् । त्यसका लागि उनलाई प्रधानमन्त्री केपी ओलीको बलियो साथ रहेको छ ।