५५ बर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौँ महानगरपालिकाबाट प्रशंशा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुलेट आमा शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उहाँलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिनुभयो । त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गर्नुभएको थियो । यस्तै  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाउनुभएको थियो । 

प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गर्नुभयो । नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो । उहाँको भनाइ थियो । 

झापाको बुधबारे बसोबास गर्नुहुने तिवारी ५५ वर्षको हुनुहुन्छ । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उहाँले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गर्नुभएको थियो । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गर्नुभएको थियो । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’