रास्वपा दोब्बर घाटामा गएपछि मुकुलको टिप्पणी- म हुँदा आर्थिक अनुशासनमा देशको १ नं पार्टी थियो


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा आर्थिक वर्ष २०८०-८१ को लेखा परीक्षण प्रतिवेदन बुझाउँदा गत वर्षको तुलनामा यस वर्ष पार्टी दोब्बर घाटामा गएपछि रास्वपाबाट निस्कासित पूर्व महामन्त्री डा मुकुल ढकालले आफ्नो पालामा आर्थिक अनुशासनमा देशको नै नम्बर एकपार्टी रहेको टिप्पणी गरेका छन् ।

रास्वपाले आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदन अनुसार संसद्को चौथो ठूलो राजनीतिक दल रास्वपाले आब २०८०-८१ मा ३ करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेकोमा खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रहेको छ ।

पार्टी दोब्बर घाटामा पुगेपछि मुकुलले रास्वपामा प्रति पार्टी सदस्य ऋण ४०,००० पुगेको टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘रास्वपामा प्रति पार्टी सदस्य ऋण रू. ४०,००० पुगेछ । नेपालमा प्रति नेपाली ऋण रू. ८८,००० पुगेछ । यस हिसाबमा रास्वपा सदस्य रहेको नेपालीको हकमा, प्रति व्यक्ति ऋण रू. १,२८,००० पुगेछ । पार्टी सञ्चालकको भुमिका मैले निभाउँदासम्म, ७ वटै प्रदेश र केन्द्रको अडिट रिपोर्ट समयमा नै बुझाएका थियौँ र आर्थिक अनुशासनमा देशको १ नं पार्टी थियौँ । अहिले के भयो, आफैँ खोज्नु, जान्नु । अडिट रिपोर्टहरू खोज्दा भेटिन्छन्’ ।