नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ढुकुटीमा पैसा नहुँदा अहिले सरकारको ओठ-तालु सुकेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सामाजिक सुरक्षा भत्ता बाँड्न पनि नसक्ने अवस्थामा सरकार पुगेको बताए । सरकारले ठेकेदार, विमालगायतको पैसा भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ । कम्युनिष्टहरुले सरकारको सफलताको मानक सामाजिक सुरक्षा भत्ता मान्दै आएको पनि उनको आरोप छ ।
‘सरकारको सफलताको मानक त्यो हैन नि । सरकारले कहाँबाट ल्याएको हो त्यो ? घरबाट ल्याएको हो ? नागरिकले कर तिरेको पैसा होईन ? अहिले हेर्नुस् त सरकारको हालत ? ठेकेदारको पैसा दिन सक्दैन, विमाको पैसा दिन सक्दैन । सरकारको ओठ-तालु सुकेको छ । ल बाँडोस् त अब, ल जताततै बाँडोस् त ? किन बाँड्न सक्दैन भने, उसले कमाएको हो र ? उसले बाँड्नलाई ? कमाइदिएको त अरुले हो नि त ? नागरिकले कामएर लगेर थपक्क बुझाएको राजश्वको पैसालाई एक निर्णयमा बाँड्न पाउने कुरा संसारको सबैभन्दा सजिलो कुरा हो,’– उनले भने ।
उनले आफू चुनावी कार्यक्रममा जाँदा हाम्रो पार्टीले जित्यो भने भत्ता बढाइदिन्छ भनेर भनिदिनुस् भन्दै चिट आउने गरेको उनले सुनाए । उनले चु्नावको बेला त्यस्तो कुरा बोल्न नहुने बताए । सरकारको सफलताको मानक सामाजिक सुरक्षा भत्ता मान्न नसकिने बताए ।
सरकारले नागरिकका कामहरुमा हस्तक्षेप गर्न नहुने, धेरै कानुन बनाएर रात विरात सताउने काम गर्न नहुने उनको भनाइ छ । उनले नागरिकलाई निरुत्साहित बनाउनका लागि सरकारले कानुन बनाउन नहुने बताए । साथै, जसको नेतृत्वमा सकरार बनेपनि त्यसले कुनै चमत्कार गर्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘सरकारले चमत्कार गर्दैन, केही गर्न सक्दैन । चमत्कार म गर्छु भन्ने जिम्मा लिएर सरकारमा मान्छे आउँछ । नागरिकले तैँले चमत्कार गर्छु भनेको थिईस्, किन गरिनस् भनेर सोध्छ । अनि उसले मैले त गरेको थिएँ, त्यसले नगरेको भन्छ । उसले उसलाई भन्छ, सब मान्छे कन्फ्यूज ।’
प्रतिक्रिया