मनिष सुमनको दाबी : भारतमा अध्ययनरत सबै नेपाली विद्यार्थीहरु सुरक्षित छन्


जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल फिर्ता नलिए अन्य पाँच वटा अध्यादेशको पनि विपक्षमा उभिने घोषणा गरेका छन् । उनले भूमिसम्बन्धी अध्यादेश जग्गा दलाल र विचौलियालाई पोस्न, नेपालको जंगल मास्न र तराई/मधेशलाई मरूभूमिकरण गर्नको लागि ल्याएको गम्भीर आरोप लगाए । सुमनले अहिलेको सरकारले सुकुम्बासीको नाममा आफ्ना कार्यकर्ताहरुलाई जग्गा बाँड्नको लागि भूमिसम्बन्धी अध्यादेश ल्याएको पनि गम्भीर आरोप लगाए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै प्रवक्ता सुमनले आफ्नो दलले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्ण गरिसकेको र उक्त निर्णय देशहको हितमा रहेको दाबी गरे । उनले भने,‘जसपाले माघ २९ गतेको संसदीय दलको बैठकबाट नै अध्यादेशबारे निर्णय दिइसकेको छ। हामीले हठातमा यो निर्णय गरेको होईन । मनमा राग, द्धेष र रिसको कारण त्यसरी निर्णय गरिएको होईन । हामीले सरकारले अध्यादेश ल्याएपछि नै कार्यदल नै बनाएर विज्ञहरुसँग छलफलपछि त्यो निर्णय लिएको हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अध्यादेश ल्याउने कुरा संवैधानिक भएपनि अहिले सरकारले अध्यादेश ल्याउँदा नियत सफा नदेखिएको आरोप लगाए । उनले भने,‘अध्यादेशको परिकल्पना संविधानमा नै राखिएको छ। संसद नचलेको अवस्थामा, अधिवेशन लामो भएको अवस्थामा, ल्याउनैपर्ने र अत्यावश्यक समयमा मात्रै ल्याउने परिकल्पना गरेको छ । संविधानको धारा ११४ ले नै अध्यादेश ल्याउने व्यवस्था गरेको छ । तर, यो सरकारले मात्रै १६ दिनको फरकमा अध्यादेश ल्याएको छ । त्योपनि ६ वटा अध्यादेश एकैसाथ ल्याएको छ । सम्माननीय राष्ट्रपतिज्यूले पनि अधयादेश जारी गर्दा, भूमिसम्बन्धी अध्यादेश चाहीँ अलिक पछि जारी गर्नुभयो । त्यो अध्यादेश संवेदनशील छ । सरकारले सुकुम्बवासी र भूमिहीनहरुको समस्या समाधानको उद्देश्यले ल्याएको होइन । सकुम्बासीको समस्या विद्यमान कानूनले पनि समाधान गर्छ । जग्गा दलालहरुको, जग्गा व्यापारीलाई लाभ पुर्याउने, हदबन्दीमा उभिएका जग्गाहरुको दुरुपयोग गर्नेगरि ल्याएको हो । अहिलेसम्म भूमिहीन को छ ? भनेर पहिचानपत्र नबाँडेको यो सरकारले आफ्नै कायकर्तालाई सकुम्बासी बनाएर जग्गा बाँड्ने उद्देश्यले यो ल्याएको हो । चुरेको दोहन गरेर तराईलाई मरुभूमि बनाउने, एउटा नियोजित षड्यन्त्रका साथ ल्याईएको हो । हामीले विपक्षमा मतदान गर्ने निर्णय लिने ।’

उनले जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश एक नमान्ने, दुई नमान्ने र तीन नमान्ने भनेर निर्णय गरेको उद्घोष गरे । उनले अध्यादेश आउँदै गर्दा आफूहरुलाई सरकारमा जान लागेको भनेर मिडियाले लेखेकोमा भने असहमति जनाए । उनले भने,‘तपाईंहरुले पनि हामीलाई कहिले गृहमन्त्री त कहिले परराष्ट्रमन्त्री, अनि कहिले शिक्षामन्त्री त कहिले मुख्यमन्त्री बनाईदिनुभयो । जसपाको यो चट्टानी अडान देशको हितमा छ । चुरेको हितमा छ । मरुभूमिकरणको विरुद्धमा छ । हामीले ओलीलाई निस्वार्थ विश्वासको मत दिएको हो । सरकार भत्किने र बन्ने अवस्था भएर स्थिरताको लागि मत दिएको हो । सरकार लामो समयसम्म जाला भनेर पनि समर्थन गरेको हो । हामीलाई त सत्ता गठबन्धनको बैठकमा सम्मानका साथ बोलाईदैन थियो । सानोको पनि बल हुँदो छ । अहिले म्याजिक नम्बर ३ सिट रहेछ । हामीलाई अहिले बोलाईन थालिएको छ ।’

उनले भूमिसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सल्लाह दिए । उनले भने,‘सरकारलाई हाम्रो निवेदन छ कि यो भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुहोस । हिजोपनि फिर्ताको दृष्टान्त छ । फिर्ता नै लिन्नौं, हाम्रँे ईज्जतको सवाल भयो, सांसदहरु खरिदबिक्री गरेर भएपनि वा सांसद अनुपस्थित् गराएर भएपनि, अहिले ट्रयाक वान र ट्रयाक टु बनाईएको रहेछ, ट्याक वान भनेको यही रहेछ । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिईएन भने बाँकी पाँच वटा अध्यादेशको विरुद्धमा मतदान गर्छौं ।’

उनले अहिलेको सरकारले वार्ता र सम्वादको लागि महत्व नदिएको गम्भीर आरोप लगाए । ताप्लेजुङको पाथीभरामा धार्मिक आस्थालाई बेवास्ता गरेर केवलकार बनाउन खोजेको र स्थानीय नागरिकमाथि दुव्र्यवहार गरेको उनको आरोप छ । उनले भने,‘गोली हानेर घाइते बनाएको छ, तीन जनालाई गोली हानेको छ । पाथीभरा घट्नाको पनि घोर निन्दा गरेका छौं । वार्ता र सम्वाद समस्याको समाधान गर्नुपर्छ । दलालको चंगुलमा नफस्न प्रधानमन्त्रीलाई चेतावनी दिन्छु । लामो समय सरकार चलाउने हो भने । वार्ता गर्नुहोस ।’

उनले अध्यादेश पारित गराउनको लागि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको सुनिएको भन्दै त्यसको पनि विरोध जनाए । उनले भने,‘अब कुन पार्टी लक्षित हो ? थाहा छैन्, जसरी पनि अध्यादेश पारित गर्न खोजिए हामी जनआन्दोलनमा जान बाध्य हुन्छौं ।’

उनले अहिलेसम्म सरकारलाइृ दिएको समर्थन कायम रहेको सुनाए । तर, यो समर्थन पनि अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको सुनाए । उनले भने,‘अहिलेसम्म सरकारमाथिको समर्थन कायम नै छ । तर, यो समर्थन पनि अध्यादेशमा नै टिकेको छ । भोलिबाट हाम्रो तीन दिन केन्द्रीय कार्यसमितिको बैठक छ । अध्यादेश अनि सरकारको समर्थनबारे पनि निर्णय लिन्छौं ।’

सुमनले नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको सुनाए । उनले भने,‘नेपाल र भारतको सम्बन्ध दुई देशबीचको सम्बन्ध, सरकार सरकारको सम्बन्ध, प्रधानमन्त्री–प्रधानमन्त्रीको सम्बन्धमात्रै होईन । जनताबीच नै सम्बन्ध छ ।’ उनले हालै भारतको ओडिसाको एक विश्वविद्यालय केआईआईटीमा घटेको घट्नाबारे भारत सरकारले चालेको कदमको प्रशंस गरे ।

उनले कलेजका ती घमण्ड गर्ने र नेपाली विद्यार्थीहरुमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गरेको भन्दै भारत सरकारको कदमको प्रशंसा गरे । उनले प्रकृति लम्साल आत्महत्या काण्डलाई लुकाउन विश्विद्यालय प्रशासनले गरेको प्रयत्न पनि असफल भएको र दोषीहरु सबैलाइृ गिरफ्तार गरेकोमा भारत सरकारलाई धन्यवाद दिए । अहिले सोही विश्वविद्यालयमा प्रकृतिको नाममा स्कलरसिप प्रदान गरेको उल्लेख गर्दै भारतमा अत्यधिक कलेजमा नेपाली विद्याथीहरु अध्ययनरत रहेको र सबै सुरक्षित रहेको पनि सुमनले सुनाए