पोखरामा कुकुरलाई मोटरसाइकलमा बाँधेर घिसार्ने व्यक्ति पक्राउ


काठमाडौं- पोखरा महानगरपालिका–२२ का खुसीराम बराललाई कुकुरलाई मोटरसाइकलमा बाँधेर मरणासन्न हुने गरी घिसार्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ। बैदाम प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ।

कुकुरलाई मोटरसाइकलमा बाँधेर दौडाइरहेको दृश्यको भिडियो सार्वजनिक भएपछि यस घटनामा चासो थपिएको थियो। त्यसपछि प्रहरी सक्रिय हुँदै ती व्यक्तिको खोजीमा लागेको थियो। पोखरा बजारबाट स्याङ्जातर्फ कुकुरलाई मोटरसाइकलमा बाँधेर करिब पाँच किलोमिटरसम्म घिसारिएको थियो, जहाँ कुकुर थाकेर घिस्रिन थालिसकेको थियो। तर बरालले कुकुरलाई नछाड्दै अघि बढाएका थिए।

त्यस बीचमा सोही मार्गबाट स्याङ्जातर्फ जाँदै गरेका केही युवाहरूले घटनाको भिडियो बनाएर कुकुरलाई उद्धार गर्न सघाएका थिए। तिनीहरूले कुकुरमाथि ज्यादती गरिएको भन्दै बराललाई यस्तो व्यवहार नगर्न आग्रह गरेका थिए, भने बरालले कुकुरले थाकेको नाटक गरेको बताएका थिए।

बराल गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालका स्वकीय सचिवका रूपमा कार्यरत छन्। घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।