काठमाडौँ- सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्।
झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म।प्र। ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ की ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७ रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन्।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ र उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
सवारी चालक २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार गाडी तीव्र गतिमा चलिरहेको थियो र यस कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। सवारी चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया