‘कस्तो छ ‘बसन्त’को ‘बिना स्वादैको’ गीत ?



चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बसन्त’को नयाँ गीत ‘विना स्वादैको’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा कलाकारहरु प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लुको अभिनय छ । साथमा, गीतमा सुनिल विक तथा कलाकार विशाल पहारीलाई पनि हेर्न सकिन्छ ।

गायक देवेन्द्र बब्लुको स्वर तथा परिकल्पना रहेको यो गीतमा देवेन्द्र र प्रकाश सपुतको संगीत छ । हरर रोमान्टिक शैलीमा यो गीत तयार पारिएको छ । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउनका लागि गरेको विभिन्न घटनालाई गीतको भिडियोमा बुनिएको छ ।

चैत्रको २२ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मलाई बाग्लुङ, काठमाडौं र तराइका विभिन्न स्थानमा खिचिएको छ ।

यो फिल्मको पहिलो गीत दर्शकको ठिकठाक साथ पाएको छ । दोस्रो गीत केही फरक शैलीमा बनाइएको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्ममा कथा, पटकथा तथा संवाद प्रकाश सपुतको छ ।

एउटा विपन्न विश्वकर्माको छोराको लेखन बन्ने सपनाको कथा यसले भन्छ । फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहराको लगानी छ । अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । सुशन प्रजापतिको छायांकन फिल्ममा छ ।