काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १२ जना नियन्त्रणमा


काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा आइतबार स्वर्गद्वारी गुठीपीडित मोही संघर्ष समिति र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए अनुसार, प्रदर्शनकारीहरूको प्रयास रोक्न प्रहरीलाई बाधा पुर्याएको क्रममा झडप भएको थियो।

झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको छ। एसपी बोहराले भने, चोट लागेको भागमा पाँच टाँका लगाइएको छ र उनलाई उपचारका लागि सिभिल अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले झडपको क्रममा १२ जनालाई नियन्त्रणमा लिएको छ।

गुठीपीडितहरूले सरकारसँग तीन बुँदे माग राख्दै माइतीघरमा लामो समयदेखि धर्ना दिइरहेका थिए। उनीहरूको मुख्य माग भनेको मोही किसानको जमिनको स्वामित्व पुनःस्थापना र गुठी जग्गाको स्वामित्व सम्बंधी कानुनी व्यवस्था मिलाउनु हो।

यसअघि उनीहरूले दाङमा १ महिना लामो आन्दोलन गरेका थिए र सरकारसँग दुई बुँदे सम्झौतामा पुगेका थिए, तर त्यसको एक वर्षपछि पनि सम्झौता कार्यान्वयन भएको छैन।