स्ववियु चुनावको विषयमा विवाद हुँदा भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड


रूपन्देही- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला क्याम्पसको हलमा तोडफोड भएको क्याम्पसले जनाएको छ ।

आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि सोमबार देशभरका क्याम्पसहरुमा अपराह्न तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय तोकिएको छ । तर, भैरहवा बहुमुखी क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरूले आइतबार साँझ नै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले विभिन्न माग राखी क्याम्पस रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसालिरहेका बेला नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु संगठन दर्ता गरी पाउँ भन्दै बैठक हलमा बाजागाजासहित प्रवेश गरेको थियो ।

यसपछि विरोधमा उत्रिएका पाँच विद्यार्थी संगठनले तोडफोड गरेका हुन् । समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बैठक कक्षमा अनेरास्ववियुका कार्यकर्ता प्रवेश गरेर होहल्ला गरेपछि पाँच विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भएर तोडफोडमा उत्रिएको जानकारी दिए । विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गढमा टायर बालेर विरोधसमेत जनाएका थिए ।

निर्वाचन तालिकाअनुसार सोमबार संगठन दर्तापछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।