शंखरापुर रिसोर्टमा जुवातास खेल्दै कांग्रेस–एमालेका नेताहरू पक्राउ


काठमाडौँ- शंखरापुर नगरपालिका(३, जरसिंह पौवास्थित हिमालयन भ्यू पोइन्ट रिसोर्टमा तास जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ बौद्ध र साँखु प्रहरी प्रभागका टोलीले जुवातास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेका थिए। पक्राउ गरिएकाहरूमध्ये केही स्थानीय नेताहरूको नाम पनि सामेल रहेको पुष्टि भएको छ।

पक्राउ भएका व्यक्तिहरूबाट ५ लाख ३३ हजार २ सय रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ। पक्राउ परेकामध्ये कांग्रेसका नेता सानबुहादुर घ्लान र एमालेका नेता रामबहादुर तामाङ पनि छन्। रामबहादुर तामाङ २०७९ को स्थानीय चुनावमा शंखरापुर ३ नम्बर वडाको सदस्यको उम्मेदवार बनेका थिए र पराजित भएका थिए। त्यस्तै, सानबुहादुर घ्लान नेपाली कांग्रेसका तर्फबाट शंखरापुर–१ का वडाध्यक्षको उम्मेदवार थिए र उनी पनि पराजित भएका थिए।

माओवादी केन्द्रका श्यामबहादुर तामाङ पनि पक्राउ परेका छन्। प्रारम्भमा स्थानीय प्रहरीले जुवातास खेल्दै गरेका नेताहरूसँग सम्बद्ध व्यक्तिहरूलाई पक्राउ गर्न हच्किएको थियो, तर पछि बौद्धका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।