काठमाडौँ- सिन्धुलीको दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या उनका श्रीमान २२ वर्षीय दिनेश सदाले गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, दिनेशले गएराति घरछेउको भान्सामा अनिसाको घाँटी थिचेर हत्या गरेका हुन्।
घटनाबारे जानकारी स्थानीयहरूले बिहान ७ बजे प्रहरीलाई दिइसकेपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट गएको संयुक्त टोलीले दिनेशलाई घटनास्थलबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका अनुसार, आपसी मनमुटावका कारण दिनेशले अनिसाको हत्या गरेको र उनले स्वीकारेका छन्।
दिनेशलाई अहिले इलाका प्रहरी कार्यालय डकाहामा राखेर अनुसन्धान भइरहेको छ। घटनास्थलबाट मुचुल्का तयार गरी शवलाई पोष्टमर्टमका लागि स्थानीय नगर अस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जानकारी दिएको छ।
दिनेश र अनिसाले करिब १० महिनाअघि प्रेम विवाह गरेका थिए।
प्रतिक्रिया