काठमडौँ– नेपाल सरकारले भूमि सम्बन्धी अध्यादेश बाहेकका ५ वटा अध्यादेश भोलि ९फागुन २१ गते० को प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारी गरेको छ। यी अध्यादेशहरूले आर्थिक गतिविधि वृद्धि गर्ने र अर्थतन्त्रलाई सहज रूपमा चलायमान बनाउन मद्दत गर्ने उद्देश्य राखेका छन्।
भूमि सम्बन्धी अध्यादेशमा भने जसपा नेपालसँग असहमति जनाएपछि थप छलफल आवश्यक भएको छ। जसपा नेपालको समर्थन नपाएको कारण राष्ट्रिय सभामा बहुमत हासिल गर्न कठिन हुने भएकाले भूमि सम्बन्धी अध्यादेशमा अझै प्रतिस्थापन विधेयक ल्याउने वा अन्य उपायहरूको बारेमा छलफल भइरहेको छ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भोलि प्रतिनिधि सभामा यी अध्यादेश पेश हुने जानकारी दिएका छन्। यसअघि, आज दिउँसो सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
त्यसैगरी, जसपा नेपाल अरू अध्यादेश पारित गर्न सहमत भएको छ। यसअघि बालुवाटारमा भएको बैठकमा धेरै विषयमा सहमति जुटेको बताइएको छ। जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्रीमा अडान राखेको छ भने, अहिले कांग्रेस र एमाले जनमत पार्टीलाई मुख्यमन्त्रीमा सघाउने काममा छन्।
मधेशको राजनीतिक अवस्था पनि जटिल देखिन्छ, जहाँ जनमत पार्टीका सीके राउत र जसपाका उपेन्द्र यादव बीच केही मतभेद रहेको छ। राष्ट्रिय सभामा जनमतको प्रतिनिधित्व नभएको कारण कांग्रेस र एमाले उपेन्द्र यादवलाई समेट्ने दबाबमा छन्। जसपा नेपालले मधेशको मुख्यमन्त्री र संघीय सरकारमा मन्त्रालय प्राप्त गरेपछि भूमि अध्यादेश पनि पारित गर्न तयार रहेको छ।
प्रतिक्रिया