नायिका पूजा शर्माले फिल्म ‘रावायण’ रिलिज भएपछि नयाँ फिल्ममा काम गरेकी छैनन् । यो फिल्मले बक्स अफिसमा सफलता हात नपारेपछि पूजालाई समस्या भएको तर्क पनि फिल्म क्षेत्रमा हुने गर्दछ ।
तर, नायिका शर्माले भने यो कुराको खण्डन गरेकी छिन् । सोमबार बेलुकी काठमाडौंको सोल्टी होटलमा भेटिएकी पूजाले भनिन्–‘पूजाले फिल्म नै पाएकी छैन भन्ने हल्ला पनि सुन्छु । तर, मैले रावायण रिलिजको समयमा नै ६ महिना ब्रेक लिन्छु भनेकी थिएँ । अहिले मैले नयाँ फिल्ममा काम नगरेकै हो । अर्को वर्षबाट धमाधम मेरो फिल्महरु आउँछन् ।’
७५ लाख खर्चिएर नयाँ विद्युतिय गाडी खरिद गरेकी पूजाले भनिन्–‘एउटा नायिका रेखा थापासँग मिलेर फिल्म बनाउँदैछु । अर्को म आफै पनि फिल्मको तयारी गरिरहेकी छु । यसैले, अर्को वर्ष दर्शकले मेरो दुई वटा फिल्म हेर्न पाउनुहुनेछ ।’
पूजाले फिल्म नचलेपनि गाडी किनेको भन्दै आलोचना गर्नेहरुलाई पनि जवाफ दिएकी छिन् । नायिका शर्माले भनिन्–‘म फिल्म मात्र बनाउँदिनँ । मेरो अन्य थुप्रै व्यवसाय छन् । यसैले, मलाई पैसा कमाउनका लागि फिल्ममा मात्र काम गर्नुपर्छ भन्ने छैन ।’
नायिका शर्माले अर्को वर्ष आफूले बिहे गर्ने पनि बताइन् । भनिन्–‘मेरो साढे ७ को दशा चलिरहेको छ । यो यही वर्षबाट सकिन्छ । अर्को वर्षबाट म धेरै काम सुरु गर्दैछु । बिहे पनि अर्को वर्ष नै गर्छु ।’
प्रतिक्रिया