चिकित्सक र नर्सको पारिश्रमिक बढाउने सरकारको तयारी


सरकारले चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् ।

आज काठमाडौँमा नेपाल चिकित्सक संघको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी र निजी दुबैमा बढाउने गरी सरकार अघि बढिरहेको बताएका छन् । चिकित्कसहरुको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने उनले विश्वास व्यक्त गरेका छन । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानुनी प्रबन्धहरू अघि बढाइरहेको मन्त्री पौडेलले बताएका छन् ।

सरकारीमा पनि तलब बढाउने र निजीमा दिइने पारिश्रमिकले पनि स्वास्थ्यकर्मीहरुलाई नपुग्ने बताउँदै उनले कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्ने बताएका छन् ।

चिकित्सक र नर्सहरुको पारिश्रमिकलाई कडाईका साथ लागू गर्नेगरी अघि बढिरहेको उनको भनाई छ । साथै मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको समेत दाबी गरेका छन् ।