पथरीशनिश्चरेमा विवाहेत्तर सम्बन्धका कारण दुई मृत फेला अनुसन्धान जारी


काठमाडौँ- मोरङको पथरीशनिश्चरेमा युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनीहरु दुवै विवाहित हुन् ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले बताए । मृतक युवतीको विवाह भने मोरङको कटरी गाँउपालिकामा विवाह भएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको प्रहरीले जनाए ।

घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा रहेका छन्।

उनीहरु विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।