काठमाडौँ– गत असोज महिनामा आएको बाढी र पहिरोले क्षति पुर्याएको बिपी राजमार्गको मर्मत कार्यलाई तीव्रता दिइएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मत कार्य तीव्र पारिएको छ। यस मर्मत कार्यले आउँदो बर्खायाममा यातायात अवरोध नगरी नियमित सञ्चालन हुने अपेक्षा गरिएको छ।
सडक मर्मतका लागि लोडर र डोजर प्रयोग गर्दै काम भइरहेको जानकारी दिएका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, बगरमा डाइभर्सन गरी सडकको पुरानै स्थानलाई अवस्था हेरी २ देखि ३ मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउन थालिएको छ। साथै, अप्ठेरो स्थानहरूमा जाली भरेर उचाइ बढाइएको छ।
कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा ८ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ। यस मर्मत कार्यका लागि सरकारले रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ। यस बजेटबाट हुने मर्मतका कामहरूको डिजाइन तयारी भइरहेको र डिजाइन सम्पन्न भएपछि ठेक्का प्रक्रियामा जाने जानकारी दिइएको छ।
राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मत गरिनुका कारण काठमाडौँबाट रामेछाप र सिन्धुली जाँदै गरेका यात्रीहरू कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन्। डिभिजन सडक कार्यालयद्वारा गरिएको अध्ययनअनुसार, भकुण्डेदेखि नेपालथोकसम्मका स्थानहरूमा पुनर्निर्माणका लागि रु ९ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ। यस पुनर्निर्माणमा दुई लेनको ‘आसफाल्ट कङ्क्रिट’ सडक बनाइनेछ, जुन पूर्वमा रहेको ‘इन्टरमिडियट लेन’ भन्दा चौडा हुनेछ।














प्रतिक्रिया