अर्घाखाँचीमा भारतीय नक्कली नोटसहित एकजना पक्राउ


काठमाडौँ- गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको शितगंगा १२ मा भारतीय नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरो नजिकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले खानतलासी गर्दा २ हजारका नक्कली ९ वटा नोटसहित एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्ति पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भएका १९ वर्षीय थानबहादुर बस्नेत क्षेत्री रहेका छन्, जो हाल अर्घाखाँचीको शितगंगा नगरपालिका १ मा बसोबास गर्दै आएका थिए।

प्रहरी प्रमुख डिएसपी चक्रबहादुर मल्लका अनुसार, उक्त व्यक्तिसँग नक्कली १८ हजार भारतीय रुपैयाँ फेला परेको छ। उनलाई मुलुकी आचारसंहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा पक्राउ गरिएको हो, र अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।