काठमाडौँ- संघीय संसद भवनमा पत्रकारहरूको संसद प्रवेश पास निलम्बनको विरोध भएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले पत्रकारको प्रवेश पास निलम्बनको कारण खोज्दै विरोध गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पत्रकारहरूको पास निलम्बन गर्नु उचित नभएको बताएका छन्। उनले भने, के तपाईँ हिटलर हो भनेर सोधेको आधारमा दुईजना पत्रकारको पास निलम्बन गरिन्छ भने, केही दिन अगाडि सत्तापक्षका माननीयज्यूले भनेको कुरा पनि याद गर्नुहोस्। उनले यसरी निलम्बन गर्ने कदमको विरोध गर्दै १९३० को जर्मनीको इतिहास पढ्नको लागि सुझाव दिएका छन्।
हिटलर चुनावबाट आएका थिए, उनले लोकतान्त्रिक अधिकार कटौती गर्दै निरंकुश शासन सुरु गरे, खनालले भने। उनले अहिलेको सरकारको प्रयासलाई पनि हिटलरको जस्तै आरोप लगाउँदै भने, प्रधानमन्त्रीज्यू, तपाईं हिटलर जस्तै बन्न चाहनुहुन्छ त
रास्वपाकै सांसद शिव नेपालीले पनि लोकतन्त्रको आधारभूत मान्यता वाक स्वतन्त्रता भएको बताएका छन्। उनले भने, प्रधानमन्त्रीलाई प्रश्न सोध्दा दुई पत्रकारको पास खारेज गरिन्छ, यसले लोकतन्त्रको हानि पुर्याउँछ ।
सांसद हरि ढकालले पनि पत्रकारको पास निलम्बनको निर्णय फिर्ता लिन आग्रह गर्दै भने, संसद सचिवालयले दुई पत्रकारको पास खोस्नु सही होइन, दल र सरकारको दबाब र प्रभावमा आएको निर्णय हो।
संसद सचिवालयले पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरेको थियो। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न सोध्दा गलत शब्द प्रयोग गरेको आरोपमा उनीहरूको प्रवेश पास निलम्बन गरिएको हो।
प्रतिक्रिया