सुतिरहेको ठाउँबाटै बेपता भएका महेश पाँच दिनपछि मृत भेटिए


तनहुँ भीमाद नगरपालिका–२ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी मृत फेला परेका छन् । घरमा सुतिरहेका उनी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।

सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा उनी मृत भेटिएका हुन् ।

राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए । बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू कहाँ छु भन्ने थाहा नभएको बताएलगत्तै मोबाइल अफ भएको परिवारले जनाएको थियो ।

उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो । सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ । बिहीबार नै उनको शव देवघाट पु¥याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् ।

उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ । महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । महेश, ठूली छोरी र आफू कावासोती बस्दै आएका थिए भने सानी छोरी र श्रीमती लमजुङ बस्दै आएका छन् ।