काठमाडौँ- दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौककी गीता पुन वलीको घरबाट गहना र नगद चोरी भएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन १५ गते गीता पुन वलीको घरबाट चोरी भएको गहना र नगदलाई घोराही बजारमा बिक्री गर्ने र किन्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
चोरीको घटनामा पहिलो गिरफ्तारी प्रदीप भनिने विज्ञान घर्तीको भएको थियो, जसले घरबाट गहना र नगद चोरी गरेको स्वीकार गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले उनलाई बुधबार घोराही उपमहानगर १७ सिस्नेखोला सडकखण्डबाट नियन्त्रणमा लिएको हो।
चोरीका गहना घोराही बजारमा विक्रि भएका थिए। विक्रि गर्ने काममा घोराही १५ काठेकोहलका विक्रम चौधरी र उनकी श्रीमती प्रतीक्षा केसीले सघाएका थिए। चौधरी दम्पतीले गहना घोराही १५ भीमसेनटोलका सुनका गरगहना बनाउने ४१ वर्षीय सदन सुनारलाई बेचेका थिए।
प्रहरीले पक्राउ गरिएका चौधरी दम्पतीको कोठाबाट दुई लाख २२ हजार ६ सय ६५ रुपैयाँ र पहेलो धातुको माइली तिलहरी बरामद गरेको छ। साथै, सुनका गहना किन्ने सदन सुनारको घरको कोठाबाट स्वरूप परिवर्तन गरिएको सुनका दुई टप, सुनको औंठी र सुनको माइली तिलहरी पनि बरामद भएको छ।
प्रहरीले चारै जनालाई चोरीको अभियोगमा पक्राउ गरी कानुनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया