राष्ट्रपति डोनाल्ड ट्रम्पको हमासलाई चेतावनी गाजामा रहेका बन्धकलाई तत्काल रिहा गरियोस्


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा रहेका बन्धकहरूलाई तुरुन्त रिहा गर्न अन्तिम चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट लेख्दै भनेका छन्, “इजरायललाई काम सम्पन्न गर्न आवश्यक सबै सहयोग उपलब्ध गराउँदैछु। यदि बन्धकलाई तुरुन्तै रिहा गरिएन भने कुनै पनि हमास सदस्य सुरक्षित रहने छैन।”

ट्रम्पको चेतावनीको विरोध गर्दै हमासले अमेरिकी राष्ट्रपति माथि आरोप लगाएको छ कि उनी हाल कार्यान्वयनमा रहेको युद्धविराम सम्झौताका सर्तहरू तोड्न इजरायललाई उक्साइरहेका छन्।

बीबीसीका अनुसार, केही घण्टाअघि ह्वाइट हाउसले गाजामा रहेका बाँकी बन्धकहरूको विषयमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको थियो, र ट्रम्पको चेतावनी त्यसपछि आएको हो।

हालसम्म, वासिङ्टनले हमाससँग प्रत्यक्ष संवाद गर्न अस्वीकार गर्दै आएको छ, र अमेरिकी नीति अनुसार हमासलाई आतंकवादी समूहका रूपमा वर्गीकृत गरिएको छ।