बुटवलमा चार जनाविरुद्ध अवैध विद्युतीय चुरोट भेप कारोबारको मुद्दा दायर


काठमाडौैँ- राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले विद्युतीय चुरोट भेपको अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।

राजस्व कार्यालय बुटवलको अनुसन्धान अनुसार, काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुली सहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा, काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गर्दै तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई भेपको तस्करी गरिएको देखिएको छ।

सुमन पराजुली र तशनिम जनरल स्टोरका हसिमुन जोलाहलाई ६२ लाख ७१ हजार ६७६ रुपैयाँ बिगो कायम गरेर उक्त ऐनअनुसार मालबस्तु जफत गर्ने र जरिवाना र हदैसम्मको कैदको माग गरिएको छ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार, तस्करीमा सघाउने र मालवस्तुको ओसारपसारमा सघाउने मुख्य आरोपमा रोजन न्यौपाने र सनाउल्ला अन्सारीलाई पनि कारबाहीमा समावेश गरिएको छ।

यसैगरी, करिब ९० दिनदेखि हिरासतमा रहेका कारोबारमा संलग्न अन्य व्यक्तिहरूसँग पनि अनुसन्धान भइरहेको बताइएको छ। राजस्व अनुसन्धान विभागले अवैध भेप कारोबार र तस्करीको विरुद्ध कडा कदम उठाएको छ र एक लाखभन्दा बढी भेप बरामद गरी कारबाही गरिएको छ।