प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्ने


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो।

यसैगरी, बैठकले कडा रोग लागेका बिरामीहरूको लागि दिइँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय पनि गरेको छ। ८ करोड ६० लाख रुपैयाँ थप निकासा गरेर बिरामीहरूलाई सहायता रकम वितरण गर्ने निर्णय गरिएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री र प्रवक्ता रेवती रमण भण्डारीका अनुसार, यो वर्ष सहयोग रकम वितरण गरेपछि, आगामी वर्षदेखि भने त्यस्ता तरिकाबाट सहयोग गर्ने नीति अपनाउनेछ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाउने निर्णय पनि गरेको छ।

त्यस्तै, बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने निर्णय गरेको छ। कोशी पर्यटन वर्षको लागि विनियोजित रकमको स्रोतगत बाँडफाँड गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री भण्डारीले जानकारी दिए।