काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दीर परिसरको गौशला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएपछि तत्कालीन संस्कृति पर्यटन तथा नागारिक उड्ययनमन्त्री सुदन किराँतीले लेनदेनको आशंका गर्दै कडा टिप्पणी गरेका छन् ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको थियो । यो संगै काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौता खारेज भएको छ । सो फैसलाप्रति गम्भीर असहमति जनाउँदै पूर्वमन्त्री किराँतीले सन्सारको कुनैपनि अदालतले हार्न नपर्ने मुद्दामा उच्च अदालतले कच्चा फैसला सुनाएको बताएका छन् ।
उनले लेखेका छन् ‘हे ! पशुपतिनाथ तिम्रो मुखेन्जी फेरि कसले कति करोड घिच्यो नि ! यो संसारको कुनै पनि कोटमा हार्ने मुद्दा होइन । भगवानलाई पनि मिलिमिली लुटी राख्नु भएको छ । छिटो लुट्नुहोस् अब यस्तो समय धेरै दिन नरहन सक्छ’ ।
२०८० साउन १७ मा धर्मशाला सञ्चालनको अधिकार मारवाडीलाई दिने पुरानो सम्झौता भंग गरिएको थियो । त्यस विरुद्ध समितिले जिल्ला अदालतमा मुद्दा गरेको थियो । जिल्ला अदालतले १६ असोज २०८१ मा मारवाडी समितिको माग दाबी नपुग्ने फैसला गरेको थियो ।
तर, सो निर्णयविरुद्ध फेरी उच्चबाट अर्को आदेश भएपछि किराँतीले थप भनेका छन् ‘अहिले उल्टो फैसला गर्ने उच्च अदालत र श्रीमानलाई बधाई छ साथै पशुपतिनाथ र पशुपतिनाथको गोठालोप्रति दु:ख व्यक्त गर्दछु’।
प्रतिक्रिया