बैतडी गोलीकाण्डका फरार अभियुक्त पक्राउ


काठमाडौँ- बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा भएको गोलीकाण्डका फरार अभियुक्त कर्णबहादुर विष्टलाई प्रहरीले भारतको धारचुलाबाट पक्राउ गरेको छ। ४५ वर्षीय विष्टलाई शुक्रवार दिउँसो भारतको धारचुलाबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

गत शनिबार कर्णबहादुर विष्टले भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टमाथि गोली प्रहार गरी हत्या गरेका थिए। घटना पछि, कर्णबहादुर बन्दुकसहित फरार भएका थिए। प्रहरी अनुसन्धानका क्रममा मोबाइल लोकेसनको आधारमा उनलाई ट्र्याक गरियो र भारतको सीमावर्ती क्षेत्र धारचुलामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, कर्णबहादुरलाई नेपाल ल्याउने तयारी भइरहेको छ। अनुसन्धानमा, कर्णबहादुर र सुरेन्द्र बिच ४० हजार रुपैयाँको लेनदेनको विवाद रहेको खुल्न आएको छ। शनिबार बेलुका, घर नजिकको होटेलमा खाना खाइरहेका बेला उनीहरू बिच भनाभन भएको थियो, जसपछि कर्णबहादुरले सुरेन्द्रलाई गोली प्रहार गरेका थिए।

गम्भीर घाइते भएका सुरेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। कर्णबहादुर पहिल्यै सिकारी भएका कारण लामो समय जङ्गलमा बस्ने गर्थे र उनी हातहतियार ओसारपसारको मुद्दामा पनि मुछिएका थिए।

घटनापछि, कर्णबहादुरलाई पक्राउ गर्न विशेष योजना बनाइएको थियो र सुरक्षाकर्मीहरूले इन्काउन्टरको तयारीसमेत गरेका थिए। अहिले उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ र थप अनुसन्धान गर्न तयारी गरिएको छ।