सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानहरूको कृषि उत्पादनलाई बजारीकरण गर्न सहज बनाउन दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ। प्रालिले २६ लाख रुपैयाँ मूल्यका एक–एक थान कृषि एम्बुलेन्स प्रत्येक पालिकालाई हस्तान्तरण गरेको हो।
प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले एम्बुलेन्सको साँचो शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई हस्तान्तरण गरे। साथै, प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले यस सहयोगले स्थानीय सरकारलाई कृषि क्षेत्रमा थप प्रभावकारी काम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले कृषि उपज सङ्कलन गर्न बेलचौतारामा निर्माण गरिएको कृषि सङ्कलन केन्द्रलाई अब गाउँगाउँमा बारअनुसार तालिका बनाएर सञ्चालनमा ल्याइने जानकारी दिए। यससँगै, किसानहरूले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न सक्नेछन् र व्यावसायिक कृषि उत्पादनमा जोड दिन सक्नेछन्।
नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले कृषि सङ्कलन केन्द्र सञ्चालनका लागि कार्यविधि तयार भएको र गाउँगाउँमा रहेका सामुदायिक भवनलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गरी एम्बुलेन्सको सहयोगले कृषि उपज बजारसम्म ल्याउन प्रयोग गरिने बताए।
प्रतिक्रिया