काठमाडौं, फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाडौंमा भव्य र्यालीको तयारी भइरहेका बेला सरकारले काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखेको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण र शक्तिपिठको दर्शन गरेर आज अपराहन्न काठमाडौं आउन लागेका पूर्वराजा शाहलाई गौशाला, तीनकुने क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका राजावादी समर्थकहरू विमानस्थलबाटै निर्मल निवाससम्म र्याली निकाल्ने तयारी गरेपछि सरकारले नारायणहिटी दरबारसहित उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको हो ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
सरकारले आज आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गर्ने तयारी अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित गरेको छ ।
प्रतिक्रिया