काठमाडौँ उपत्यकामा वायु प्रदूषण र वर्षा नहुनुका कारण


काठमाडौँ- काठमाडौँ उपत्यकामा पर्याप्त वर्षा नहुँदा आकाशमा डम्म बादल लागेको र वायु प्रदूषण पनि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन नसकेको बताइएको छ।

मौसमविद् विनु महर्जनका अनुसार, मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन। अझै तीन दिन यस्तै मौसम रहने देखिन्छ।

आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहरका रूपमा सुचीकृत भएको छ। एयर क्वालिटी इन्डेक्स का अनुसार, काठमाडौँमा वायु प्रदूषण १६३ एक्युआई पुगेको छ।

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सुचीकृत भएको छ, दोस्रो स्थानमा चीनको बेइजिङ, तेस्रोमा बङ्गलादेशको ढाका, र चौथो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ।