काठमाडौँ- पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनको स्वागतमा ठूलो राजावादी भीड जम्मा भएको छ। एयरपोर्टदेखि गौशाला, चाबहिल हुँदै महाराजगञ्ज र चक्रपथमा राजावादी समर्थकहरूको भीड फैलिएको छ।
त्रिभुवन विमानस्थलको गोल्डेन गेटमा पूर्वराजाले आफ्नो गाडीबाट आधा जीउ निकालेर समर्थकहरूलाई हात हल्लाएर अभिवादन गरे। समर्थकहरूले विभिन्न नाराबाजीसहित तस्बिर, भिडिओ र सेल्फी खिचिरहेका थिए।
तर, राजावादी प्रदर्शनका कारण विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूलाई समस्या भएको छ। त्रिभुवन विमानस्थलमा जाने र फर्कने यात्रुहरूलाई तीनकुने र चाबहिल क्षेत्रमा सवारी डाइभर्ट गर्दा उनीहरूले समयमै उडान पाउन गाह्रो भएको बताएका छन्।
यात्रुलाई बिदाई गर्न र लिन गएका आफन्तहरूलाई पनि प्रहरीले सडक छेउमा रोकेको थियो। राजावादी प्रदर्शनका कारण ट्राफिक प्रहरीले तीनकुने देखि गौशाला क्षेत्रसम्म यातायात डाइभर्सन गरेपछि अन्य स्थानहरूमा पनि ट्राफिक जाम भएको छ।
प्रतिक्रिया