भारतको पुनेमा युवतीलाई बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ- नुवाकोटको दुप्चेश्वर गाउँपालिका(७ का ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर गाउँपालिका(६ का सोमबहादुर तामाङलाई मानव बेचबिखन आरोपमा पक्राउ गरिएको छ। उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले शुक्रबार काठमाडौँको तार्केश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका यी दुईविरूद्ध पीडितहरूले किटानी जाहेरी दिएका थिए। एसपी नरेन्द्र कुँवरका अनुसार, उनीहरूले २०८१ मंसिर १८ गते ललितपुरको गोदावरी नगरपालिका(१२ चापागाँउबाट दुई युवतीलाई कोटेश्वर, झापा, काकडभिट्टा, दार्जलिङ, कोलकत्तासम्म लैजाने र पछि दिल्ली हुँदै महाराष्ट्रको पुनेमा पुर्याएको बताएका छन्।

एसपी कुँवरले जानकारी दिए अनुसार, युवतीहरूलाई माघ १५ गते उद्धार गरिएको थियो। उक्त घटनामा मानबहादुरले नक्कली नागरिकता र परिचयपत्र तयार गरी नेपाल(भारत सीमा पार गराएका थिए। पीडितहरूले मानबहादुरले उनीहरूलाई एक लाख ५० हजार भारतीय रूपैयाँमा बेचेको जानकारी दिएका थिए, र अनुसन्धानमा यो तथ्य पुष्टि भएको एसपी कुँवरले बताए।

अपराधका आधारमा मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन र ओसारपसारका मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भुक्तान गरिसकेको जानकारी दिइएको छ।